चौतारा ।

बिगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड रिल्याक्स गर्न जाने सुकुटे रिसोर्टले व्यक्तिको जग्गा पनि हडपेको आरोप लागेको छ । सार्वजनिक जमिनमा रिसोर्टका संरचना निर्माण गरेको आरोप खेपेको सुकेटे रिसोर्टले व्यक्तिको जग्गा पनि हडपेको भन्दै गारगुहार गरिएको छ ।
रिसोर्टले जबर्जस्ती जग्गा प्रयोग गर्दै आइरहेको भन्दै पीडित परिवारले खाली गरिदिन माग गरेका छन् । बारम्बार ताकेता गर्दासमेत कुनै सुनुवाइ नहुँदा पुनः ०७८ सालमा वडा कार्यालय, जिल्ला प्रशासन, नगरपालिका र यस क्षेत्रमा क्रियाशील पर्यटन गतिविधिमा संलग्न संस्था सिन्धु पर्यटन व्यवसायी संघमा समेत निवेदन दिइएको थियो । पछिल्लोपटक ९ असार ०८२ मा वडा कार्यालयमा निवेदन दर्ता गरी छलफलका लागि बोलाए पनि जग्गा हड्प्न खोज्ने होटेलका सञ्चालक उपस्थित नभएपछि निकास निस्किन नसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
०५४ सालदेखि सुकुटे बीच रिसोर्टले प्रविन श्रेष्ठ र उनका बुबाको नाममा रहेको जग्गा प्रयोग गरको पीडितको अरोप छ । सुरुमा सो रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाले मौखिक सहमतिमा २० हजार रुपैयाँ दिएर केही वर्षका लागि सो जग्गा भाडामा लिएका थिए ।
जग्गा बिस्तारै आफ्नो जस्तै ठानेर रिसोर्टले प्रयोग गरिरहेको श्रेष्ठले बताए ।
‘सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका– ९ को अरनिको राजमार्गखण्डको बालुवा भन्ने स्थानमा सिन्धु पर्यटन व्यवसायी संघका उपाध्यक्ष महेन्द्र श्रेष्ठका हजुरबुबा विष्णुलाल श्रेष्ठको एकल रूपमा रहेको खेत उनका चार भाइ छोराहरूमध्ये साहिँला छोरा सत्यलाल श्रेष्ठको भागमा पर्ने कित्ता नं. ५०७ को क्षेत्रफल ३–६–०–३ मात्र यसै क्षेत्रमा सञ्चालित सुकुटे बीच रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापालाई बिक्री गरे,’ श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बाँकी कित्ताहरू ४३० को २–३–०–२ र ५०६ को १–१३–३–२ क्षेत्रफलका जग्गा ०५४ सालमा मौखिक सहमतिमा एकमुस्ट २० हजार लिई केही समयका लागि मात्र उपभोग गर्न दिइएकोमा केही समयपछि विष्णुलाल श्रेष्ठको मृत्यु भएपछि उक्त जग्गा खाली गर्न बारम्बार अनुरोध गर्दा खाली पनि नगरिदिएको र भाडा पनि नदिएको र उल्टै शक्तिकेन्द्रहरूको आडमा प्रहरी प्रशासन लगाई पक्राउ गरी मानसिक र शारीरिक यातनासमेत दिने काम गर्दै आएको अवस्था छ ।’
हाल जग्गा खाली गराइदिनेबारे जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, नगरपालिका, प्रहरीलगायतले बेवास्ता गरेको जग्गाधनी तथ पीडित परिवारको गुनासो छ ।
सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले व्यक्तिको जग्गा रिसोर्टले प्रयोग गर्दा फिर्ता गर्ने सम्बन्धमा प्रशासनले समेत बेवास्ता गरेको बताए ।







