चौतारा ।

अघिल्लो आर्थिक वर्षमा गरेको विज्ञापनमा परीक्षा नै सञ्चालन नगरी स्थगित गरिएपछि लिसंंखु पाखर गाउँपालिकामा अवैध काम हुने गरेको खुलासा भएको छ । अघिल्ला आर्थिक वर्षको सुरुवातमै गाउँपालिकाले कर्मचारी आवश्यकताको विज्ञापन गरेको थियो । बिभिन्न पाँच पदमा गरिएको विज्ञापनमा अनुकुलका व्यक्तिले निवेदन नदिएपछि परीक्षा नै सञ्चालन गरेको थिएन ।
माओवादीको अध्यक्ष रहेका यस पालिकामा उनैले आफू अनुकुल कर्मचारी भर्ना गर्न खोजेका थिए । त्यसोत केही निवेदन दिएका व्यक्तिलाई आर्थिक माग पनि गरिएको चर्चा चलेको छ । प्रमुख कार्यकारी अधिकृत बीरबहादुर बस्नेतले अवैध कामको अगुवाई गरेका कारण स्थानीय युवाहरूले उनको कार्यकक्षमा गएर सवाल जवाफ गरेका थिए । तर, बस्नेतले चित्तबुझ्दो जवाफ नदिएको स्थानीय युवाहरूको भनाई छ । आफूले मनपरी गर्ने अनि कार्यपालिका बैठकले निर्णय गरेको भन्दै भाग्ने कार्यकारी अधिकृत बस्नेतलाई पालिका उपाध्यक्षसहितको टोलीले जवाफ मागेको थियो । तर, कार्यकारी अधिकृत भने परीक्षा दस्तुर फिर्ता गर्ने भन्दै भागेका छन् । उपाध्यक्ष मिठुदेवी लामा समेत यो निर्णयमा आफू सामेल नभएको बताएपछि पालिका अध्यक्ष र कार्यकारीले मिलेमतोमा अवैध काम गरेको पुष्टि भएको स्थानीय प्रकाश लामाले बताए ।
गाउँपालिका अध्यक्ष र कार्यकारी बीरबहादुर बस्नेत मिलेर अवैध काम गर्दै लाखौ कुम्ल्याएको लामाको भनाई छ ।
‘कर्मचारी नै आवश्यकता नभएको भए किन विज्ञापन गरियो ? निवेदन परेको एक वर्षपछि किन रद्द गरियो ? ’ स्थानीय प्रकाश लामाले भने, ‘यो दुःख दिने र कुम्ल्याउने मेसो हो ।’
रद्द गर्ने निर्णय कार्यपालिका बैठकले गरेको भन्ने कार्यकारी अधिकृत बस्नेतको जवाफ उपाध्यक्ष लामाले तत्काल खण्डन गरेकी छिन् । यो कार्यपालिका बैठकले भन्दा पनि अध्यक्ष र कार्यकारी प्रमुखको मिलेमतोमा भएको अवैध काम भएको उपाध्यक्ष लामाको भनाई छ ।
कार्यकारी अधिकृत भने उपाध्यक्षकै कारण समस्या आएको बताउँछन् । ०८१ – ०८२ का लागि विज्ञापन खोलेको ०८२ –०८३ लागेपछि रद्द गर्नु परेको बस्नेतको भनाइ छ । परीक्षा लिने वातावरण नै नभएका कारण रद्द गरिएकोले यसलाई यही रुपमा बुझ्न पर्ने बस्नेतको भनाइ छ ।






