नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति, सिन्धुपाल्चोकको चौथो विस्तारित बैठक आज सम्पन्न भएको छ।

जिल्ला अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेलको अध्यक्षतामा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं पूर्व सांसद सुभाष कर्माचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
बैठकको सहजीकरण संगठनका सचिव डोलबहादुर घलेले गरेका थिए ।
अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेलले स्वागत मन्तव्य राख्दै संगठनको भूमिका र भावी योजनाका विषयमा प्रकाश पारे ।
केन्द्रीय सदस्य सिन्धुपाल्चोक जिल्ला इन्चार्ज मेघनाथ भट्टराईले संगठनप्रति प्रतिबद्धता व्यक्त गर्दै अघिल्ला वर्षहरूमा पूर्ण रूपमा सक्रिय हुन नसके पनि आगामी दिनमा सिन्धुपाल्चोकको संगठनलाई अझ मजबुत र क्रियाशील बनाउने दृढता व्यक्त गरे ।
त्यस्तै बागमती प्रदेश सह इन्चार्ज पुरुषोतम दाहालले पेशागत संगठनमा लाग्दै आन्दोलन बाट सहिद भएका व्यक्तिको सम्झनामा विविध कार्यक्रमा गर्ने र बागमती प्रदेश कमिटीको बैठक सिन्धुपाल्चोकमा राख्ने प्रावधान मिलाउने प्रतिवद्ध व्यक्त गरे ।
कार्यक्रममा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सहकारीको लेखा परीक्षण तथा नवीकरणपछिको प्राथमिकता सिन्धुपाल्चोकका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सदस्यता दिलाउने रहेको जानकारी दिए ।
प्रमुख अतिथि कर्माचार्यले निजामती कर्मचारीहरू राष्ट्र निर्माणका प्रमुख अंग भएको उल्लेख गर्दै कर्मचारीहरूको हक–हित, आवाज र संगठनको सशक्तिकरणमा निरन्तर लाग्न आह्वान गरेका छन् । कर्मचारीहरूको योगदानलाई धन्यवाद दिँदै उनले राजनीतिक दल र कर्मचारी संगठनबीचको सकारात्मक सहकार्य आवश्यक रहेको धारणा राखे ।
बैठकले संगठनका आगामी योजना, सदस्यता विस्तार, सहकारी सुदृढीकरण तथा कर्मचारी हितका विविध पक्षमा विस्तृत छलफल गरेको छ।
कार्यक्रममा प्रदेश सह इन्चार्ज, इन्चार्ज तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।






