खाडीचौर ।

सिन्धुपाल्चोकको लिसंखु पाखरमा अवैध कामका कारण बदनाम बढ्दै गएको छ । । जनप्रतिनिधिकै मिलेमतोमा अवैध काम गरेको भन्दै स्थानीयवासीले चर्को आवाज उठाइरहेका छन् । यसरी आवाज उठाउने स्थानीय सचेत युवाहरूलाई जनप्रतिनिधिहरूले नै साथ दिइरहेका छन् । पालिकाले कर्मचारी माग गरेर एक साल पछि रद्द गरेकोमा उपाध्यक्ष मिठु लामाले नै चर्को विरोध गरेकी थिइन् । गाउँपालिकामा निर्माणाधीन नयाँ कार्यालय भवन निर्माणमा प्रयोग भइरहेका ढुंगा माटो अवैधानिक रुपमा उत्खनन भएको भन्दै वडा सदस्यले नै पालिकामा निवेदन दर्ता गराएपछि अर्को लफडा सुरु भएको छ । वडा सदस्य रिवेक घिसिङले हाल निर्माण भइरहेको काममा सार्वजनिक क्षेत्र र वन क्षेत्रको ढुँगा अनुमति नै लिई प्रयोग गरेका कारण आफूहरूले विरोध गरेको बताए । वन उपभोक्ता समितिदेखि स्थानीय कुनै पनि निकायसँग अनुमति नलिई ठेकेदारले अवैध काम गरेपछि भुक्तानी रोक्नु पर्ने माग सहित वडा सदस्यले निवेदन दिएको बताए । यो काम तुरुन्त रोक्न माग पनि गरिएको छ ।
वडा नं. १ भित्र पर्ने सामुदायिक बन क्षेत्रबाट ढुँगा उत्खनन गरी भवन निर्माणमा प्रयोग गरिएको भन्दै गाउँपालिकाका वडा सदस्य घिसिङले २०८१ फागुनमै निवेदन दर्ता गराएका थिए । तर, यसको सुनवाई भएको छैन ।
निवेदनमा अवैधानिक गतिविधिमा संलग्न निर्माण कम्पनीलाई कारवाही गर्न र उक्त कम्पनीलाई दिइने सम्पूर्ण भुक्तानी तत्काल रोक्न माग गरिएको छ ।
वडा सदस्यले सामुदायिक बन संरक्षण र कानुनी व्यवस्थाको पालना सुनिश्चित नगरी भइरहेको निर्माण कार्यले वातावरणीय क्षति निम्त्याउने भन्दै गुनासो गरेका छन् ।
अझ ढुँगा निकाल्दा सार्वजनिक बिजुलीको तारबाट विद्युत चोरेर काम गरेको स्पष्ट देखिन्छ । नाङ्गो तारबाट बिजुली अङ्कुश लगाएर काम गरिएको छ ।
हालसम्म वनक्षेत्र वाट २० ट्रिप निशान गाडीमा ओछ्याउने ढुँगा लगिएको छ । यसमा वडा अध्यक्ष समेतको मिलेमतो भएको हुन सक्ने केहीले शङ्का गरेका छन् ।
ठेकेदार भने स्थानीयले बेचेको आधारमा किनेर ल्याएको बताईरहेको छ । तर, सार्वजनिक ठाउँको ढुँगा ल्याइएको छ ।
जिल्ला समन्वय समितिदेखि सरोकारवाला बिभिन्न सरोकारवाला निकायमा उजुरी गरेको वडा सदस्य घिसिङले बताए ।






