आदरणीय चक्र सर,

विद्यालय जीवनको सुगन्धमा जोडिएको हाम्रो सामिप्यता आज झनै गहिरो, झनै मजबुत बनिरहेको छ । सुनकोशी गाउँपालिका–६ अर्थात् तत्कालीन थुम्पाखर गाविसको आँगनमा तपाईंको पसिनाले सिञ्चिएको शैक्षिक क्षेत्र आज पुष्पित, पल्लवित हुँदै सुन्दर बगैँचा बन्ने क्रममा छ ।
कोल्दोङ देवी माविको ती कक्षा कोठाहरूमा तपाईंले हामीलाई सिकाउनुभएको अङ्ग्रेजी र ग्रामरका नियमहरू कहाँ त्यति सहज थिए र ? पाखरखोला तरेर नाक ठोक्किने उकालो चढ्दै विद्यालय पुग्न तपाईंलाई जति कठिन हुन्थ्यो त्यो भन्दा कठिन थियो हाम्रा लागि अङ्ग्रेजी विषय । उकालो उक्लिँदै आउँदा तपाईं पसिनाले जसरी निथ्रुक्क हुनुहुन्थ्यो, उसैगरी अङ्ग्रेजी अक्करले हाम्रो मनस्थिति भिजाइदिन्थ्यो । आफ्नै मातृभाषामा त पारङ्गत नभएका हामीलाई पराइ भाषा आत्मसात् गर्नु सगरमाथा चढ्नुभन्दा गाह्रो थियो । तर, तपाईंको मुस्कानमा मिसिएको हौसला र जादुमयी शिक्षण शैलीले भाषाको त्यो कठोर चट्टानलाई पनि फूलको पातझैँ हलुका बनाइदिन्थ्यो । हामीमा सिक्ने हिम्मत र हौसला जगाइदिन्थ्यो ।
तपाईंले कक्षामा केवल भाषा मात्र सिकाउनु भएन, जीवनको चक्रलाई बुझ्ने दृष्टि पनि दिनुभयो । विद्यार्थीप्रतिको तपाईंको समर्पण, धैर्यता र आत्मीयता हाम्रो लागि अनन्त प्रेरणाको स्रोत रह्यो ।
त्यतिमात्रै होइन, ‘तारा–चक्र फाउण्डेशन’मार्फत शैक्षिक उन्नतिका लागि गर्नुभएको योगदानको मूल्याङ्कन शब्दमा सजिलै समेट्न सकिन्न । फाउण्डेशनमार्फत सबै शिक्षक र विद्यार्थीलाई उत्प्रेरित गर्न खर्चिनुभएको उर्जाले गाउँलाई उज्यालो बनाइरहेको छ, समग्र वडाको गौरब बढाएको छ ।
समयको चक्रले तपाईंलाई अहिले सुनकोशी गाउँपालिका–६ को वडाअध्यक्षको गरिमामय जिम्मेवारीमा पु¥याएको छ । मतदाताले तपाईंको अघिल्लो योगदान, समर्पण र त्यागलाई आफ्नो अमूल्य मतमार्फत सम्मान गरेका छन् । वडाअध्यक्ष केवल पद मात्र होइन— त्यो त गाउँको प्रथम अभिभावक र सबैको भरोसा पनि हो । अब शैक्षिक मात्र होइन, सामाजिक, भौतिक, आर्थिक र सांस्कृतिक समृद्धिको सन्तुलन मिलाएर यस वडालाई नमूना गाउँमा रूपान्तरण गर्ने जिम्मेवारी तपाईंको काँधमा छ । आधा कार्यकाल बित्दा केही उज्याला छनक देखिएका छन्, र बाँकी कार्यकाल अझ उज्ज्वल होस् भन्ने हाम्रो कामना छ ।
तपाईंको नामजस्तै तपाईंको जीवनको ‘चक्र’ समुदायको समृद्धिको लागि निरन्तर घुमिरहोस् । यस यात्राको मूल्याङ्कन वडावासीले आज गरेका छन्, भोलि अझ गर्वका साथ गर्ने नै छन् ।
तपाईको जीवनको यो गौरवपूर्ण इतिहास त्यति सजिलै बनेको होइन । यसका लागि परिवारलाई दिनुपर्ने समय कटाउनु परेको होला, आफ्ना लालाबालाका लागि दिनुपर्ने स्नेह र काख खोसिएका होलान्, आमाले मायाले पस्किएको गाँस नै छाडेर हिड्नु परेको पनि होला । कतिपय व्यक्तिगत सपना र चाहनालाई तिलाञ्जली दिनु परेका होलान् । तर, तपाईको लागि एउटा घर मात्रै होइन, समग्र वडा नै परिवार बनेको छ । तपाईंको नाममा लेखिएको र अब लेखिने इतिहास यही ठूलो परिवारको समृद्धि, समुन्नति र स्नेहको कथा हुनेछन् । त्यसबाहेक, तपाईंको त्याग, परिश्रम र निस्वार्थताको गाथा त्यो इतिहासको अध्याय हुनेछ ।
तपाईंको आगामी दिनहरू अझ उर्जामय बनून्, स्वास्थ्य अब्बल रहोस्, उत्साहमा रत्तिभर कमी नआओस् । तपाईंको आँट, साहस र समर्पण सधैं उस्तै बलियो रहोस्– भगवान विष्णुको ‘शुदर्शन चक्र’ जस्तै ।
शुभ जन्मोत्सवको यस पावन अवसरमा तपाईंप्रति शत–शत नमन र अनन्त हार्दिक शुभकामना आदरणीय चक्र सर

–लामो समय शिक्षण पेशामा रहेर हाल जनप्रतिनिधि रहनु भएका चक्र बस्नेतप्रति विद्यार्थी उद्धव थापाले सामाजिक सञ्जालमा राखेको अभिव्यक्ति-






