चोरीको सामानसहित काठमाडौंमा चार जना पक्रा
काठमाडौं : काठमाडौं महानगरपालिका–१६, ढोकेलस्थित एक घरको डेरा कोठा फुटाई नगद तथा धनमाल चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन २६ गते दिउँसो करिब ३ः३० बजे घरको डेरा कोठा फुटाएर चोरी भएको सूचना पाएपछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई चोरीका सामानसहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–३ घर भई काठमाडौंको गोंगबु बस्ने २५ वर्षीय सुमन थापा मगर, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ घर भई काठमाडौं मनमैजु बस्ने २३ वर्षीय दीपक भनिने दीपेश नेगी, गोरखाको धार्चे गाउँपालिका–५ घर भएका ५१ वर्षीय धनबहादुर सुनार र हाल काठमाडौं मनमैजु बस्ने ३५ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न दरका नेपाली नोट गरी रु. ७५ हजार, अमेरिकी डलर, सुनजस्तो देखिने मुन्द्रा, झुम्का, औँठी तथा गहनाका टुक्रालगायतका सामान बरामद गरेको जनाएको छ। साथै ल्यापटप, मोबाइल सेट, घडी, चाँदीको पाउजु, खुकुरी, क्याप टोपी, कालो रंगको हँसिया, तामाको जस्तो देखिने मूर्ति, नागरिकता, चोरीमा प्रयोग हुने रड र फलामे छिनोसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनामाथि चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।






