काठमाडौं : लामो समयदेखि जारी खाना पकाउने एलपी ग्यासको अभावप्रति ग्यास बिक्रेता महासंघ नेपालले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल आपूर्ति सहज बनाउन माग गरेको छ ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा विगत चार महिनामा करिब ६० हजार मेट्रिक टन ग्यास कम आयात भएको उल्लेख गर्दै आयातमा आएको गिरावटकै कारण बजारमा अभावको अवस्था सिर्जना भएको दाबी गरिएको छ ।
महासंघका अनुसार प्रभावकारी वितरण प्रणालीमार्फत बिक्रेतामार्फत ग्यास बिक्री गर्नुपर्नेमा ग्यास उद्योग तथा विभिन्न बिक्री केन्द्रमार्फत प्रत्यक्ष बिक्री गर्ने निर्णयले समस्या थप जटिल बनेको छ । बजारको मागभन्दा बढी करिब ८० लाख सिलिन्डर छरिएको अवस्थामा समेत नयाँ सिलिन्डर बिक्री नरोकिएकाले आगामी वर्ष पनि समस्या दोहोरिन सक्ने महासंघले चेतावनी दिएको छ ।
महासंघले सरकार, उद्योग र बिक्री केन्द्रका नाममा आफैं ग्यास बिक्री गर्ने प्रवृत्तिले डिलर तथा बिक्रेताको वितरण प्रणाली प्रभावित भएको जनाएको छ । उद्योग र विभिन्न बिक्री केन्द्रबाट प्रत्यक्ष बिक्री रोक्दै बिक्रेतामार्फत वितरण सहज बनाउनुपर्ने उसको माग छ ।
त्यस्तै, ग्यास अभावको कारणबारे सरकार, नेपाल आयल निगम, वाणिज्य मन्त्रालय तथा अन्य सरकारी निकायले समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा अनावश्यक प्रचारमा लागेको महासंघको आरोप छ । सञ्चारमाध्यममा महासंघ तथा उपभोक्ता वर्गको समस्या उठेपछि मात्र सरकारी निकायबाट अभावको कारणबारे विभिन्न धारणा सार्वजनिक हुने गरेको भन्दै महासंघले असन्तुष्टि जनाएको छ ।
महासंघले अनुगमनका नाममा आम ग्यास बिक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैयाप्रति समेत आपत्ति जनाएको छ। बिक्रेतालाई दोषी देखाउनेभन्दा वास्तविक समस्या पहिचान गरी समाधानमा केन्द्रित हुनुपर्ने उसको भनाइ छ।
महासंघले तत्काल ग्यास उद्योग तथा विभिन्न नामका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष बिक्री बन्द गर्न, डिलरमार्फत मात्रै ग्यास वितरण गर्ने व्यवस्था मिलाउन, नयाँ सिलिन्डर बिक्रीमा रोक लगाउन तथा अनुगमनका नाममा बिक्रेतालाई दुःख दिने कार्य बन्द गर्न सरकारसँग माग गरेको छ ।
महासंघले ग्यासको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित नगरे आगामी वर्ष अभावको समस्या अझ गम्भीर बन्न सक्ने चेतावनीसमेत दिएको छ ।






