काभ्रे : काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।
पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो ।
दुर्घटनामा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नामथर र ठेगाना भने खुल्न सकेको छैन ।
दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूको उद्धार तथा उपचारका लागि प्रहरी टोली र एम्बुलेन्स घटनास्थलमा परिचालन गरिएको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।






