नेपाल निजामती कर्मचारी संगठन, सिन्धुपाल्चोकले सहिद मनोज- झपेन्द्र- सुरेन्द्र स्मृति दिवसको अवसरमा जिल्ला सदरमुकाम चौतारास्थित बौद्धिक अपांगताका अभिभावक संघद्वारा सञ्चालित आवास गृहका बालबालिकाहरुको लागि लत्ताकपडा, खाद्यान्न, र फलफूल वितरण कार्यक्रम गरेको छ ।

ती बालबालिकाहरुलाई टिसर्ट ट्राउजर १० सेट, चामल २ बोरा, केही दाल, तेल र फलफुलहरु वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सचिवालय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज मेघराज भट्टराईले नेपाल निजामती कर्मचारी संगठनले आम निजामती कर्मचारीहरुको हकहितको लागि सधै अग्रणी भूमिका निर्वाह गरिरहेको र संगठनले सधै यस्ता सिर्जनात्मक कार्यक्रमहरु गरी नागरिकको विश्वास जित्ने कामहरु पनि गर्दै आईरहेको बताए ।
यस्ता बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि प्रायः धेरैको ध्यान नपुग्ने गरेको पाईएकोले यस्ता कार्यक्रमहरु बेलाबखत गर्न सके सम्वन्धित सरोकारवालाहरु र सहयोगी निकायहरुको समेत ध्यानाकर्षण हुने उनको भनाइ छ ।
कार्यक्रमका विशेष अतिथि नेकपा एमाले सिन्धुपाल्चोकको सल्लाहकार कृष्णराज श्रेष्ठले यस्तै क्रियाकलाप गरी नागरिकलाई सेवा दिन र नेपाल निजामती कर्मचारी संगठन आम कर्मचारीहरु लगायत देश र जनताको वृहत्तर हित गर्ने संगठन हो भन्ने भनाईलाई थप बलियो बनाउन सबै संगठक साथीहरुलाई एकजुट भई अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा आवास गृह सञ्चालक एवं अभिभावक संघकी सचिव रजनी श्रेष्ठले नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकलाई धन्यवाद दिदै संगठनको सहयोग प्रति आभार व्यक्त गरिन । कार्यक्रमको अध्यक्ष एवं नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोकको अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेलले संगठनले धेरै काम गर्न नसकेपनि यी यस्ता छाँयामा परेका समस्याहरुलाई उजागर गरी सरोकारवालाहरुलाई सुसूचित गराउने काम गर्ने बताए ।
संगठनले हालै सरुवा भई सिन्धुपाल्चोक जिल्लामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलालाई स्वागत गरेको छ ।
कार्यक्रममा संगठन जिल्ला ईन्चार्ज, बागमती प्रदेश कमिटी सदस्य तिलकबहादुर राई, जिल्ला अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेल, आधिकारिक ट्रेड युनियनका पूर्वअध्यक्ष शम्भुप्रसाद पोखरेल, संगठन उपाध्यक्ष पुनम भण्डारी, केन्द्रिय अधिवेशन प्रतिनिधि कमलादेवी श्रेष्ठ, राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था, सिन्धुपाल्चोकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, संगठित सदस्यहरु प्रकाश थापा, निरज परियार, हरि बहादुर यमसी, राजबहादुर श्रेष्ठ, रविराज धिताल, स्वरुपसिँ तामाङ, आशिष शर्मा लगायतको सहभागिता थियो ।






