चौतारा ।
नेकपा (एमाले) सिन्धुपाल्चोकको प्रतिनिधि परिषद्को पहिलो बैठक हुन गइरहेको छ । जिल्लाको मेलम्चीमा भदौ तीन गते आयोजना हुने यो बैठकको तयारी द्रुत गतिमा भइरहेको छ । बैठकमा ७ सय ४५ प्रतिनिधि सहभागि हुनेछन् । केन्द्रीय महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम भव्यरूपमा सम्पन्न गर्ने तयारी जिल्ला कमिटीले गरेको छ ।

बैठकमा जिल्ला समितिको यो कार्यकालको उपलब्धि, आगामी योजना र पार्टी सुदृढिकरणको योजना निर्माण गरिने जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले बताए । साथै, आगामी दिनमा हुने चुनौती र सामनाका बारेमा योजना निर्माण गर्न पनि यो बैठक सफल हुने छ । सम्भावनाको खोजी गर्दै र विगतको कामको समीक्षा गर्दै थप सुदृढ हुनका लागि बैठकमा छलफल हुने छ । बिभिन्न दस्तावेज अनुमोदन गर्दै एमाले सिन्धुपाल्चोक थप चलायमान हुने पनि अध्यक्ष श्रेष्ठले बताए ।
विगतमा पार्टीभित्र केही समस्या भएको भएपनि त्यसको कुनै असर नरहेको अध्यक्षको भनाई छ । पछिल्ला दिनमा सबै नेताहरू एकै ठाउँमा बसेर पार्टीको आगामी योजनाका बारेमा छलफल गरिएको कारण पनि यस्ता कार्यक्रम आयोजना गरिएको अध्यक्षको भनाई थियो । झिना समस्या भए पनि त्यसको समाधानमा सक्षम भएको उनको भनाइ छ ।
प्रतिनिधि र नेताहरू सहभागि भएर स्पष्ट रुपमा अघि बढ्ने एमाले सिन्धुपाल्चोकको योजना रहेको छ । केन्द्रीय विधान महाधिवेशनका सन्दर्भमा पनि यो बैठक आयोजना भएका कारण आएका हरेक सुझाव र सल्लाहलाई माथिल्लो निकायमा पठाउने काम गरिने अध्यक्ष श्रेष्ठले बताए ।






