काठमाडौं ।
दशैं नजिकिँदै गर्दा चीनबाट आयात हुने उपभोग्य सामग्री केरुङ नाकामा रोकिएको कारण बजारमा महंगी बढ्ने संकेत देखिएको छ। हिमालय सीमापार वाणिज्य संघका पदाधिकारीहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेटेर समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्। चीनतर्फ अहिले सात सय भन्दा धेरै मालवहाक गाडी रोकिएका छन् ।

केही समयअघि आएको बाढीले केरुङ्ग नाकातर्फ जाने सडक अवरुद्ध हुँदा अरबौं रुपैयाँ बराबरको सामान चीनतर्फ अड्किएको छ । दशैं लक्षित खाद्यान्न, लत्ताकपडा, सजावटी सामग्री लगायत उपभोग्य वस्तु नेपाल भित्रिन नसक्दा माग आपूर्ति असन्तुलन भई उपभोक्ताले मूल्यवृद्धिको मार खेप्नुपर्ने अवस्था आएको व्यापारीहरूको दाबी छ ।
संघका वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे (सागर) ले भने, ‘व्यवसायीलाई समस्या त छँदैछ, तर उपभोक्ता थप मारमा पर्ने भएकाले सरकारलाई पटक–पटक गुहार्न बाध्य भएका छौं ।’ उनका अनुसार सडक मर्मतमा लागि ह्युम पाईपलगायतका सामाग्रीमा व्यवसायी आफैं लगानी गर्न तयार भए पनि दुई देशको सीमा र कूटनीतिक प्रक्रियाका कारण सरकारी पहल अपरिहार्य छ ।
संघले दशैं अघि नै नाका सञ्चालन नहुँदा ठूलो नोक्सानी हुने चेतावनी दिंदै चीनतर्फ थुनिएका सामान छिटो नेपाल ल्याउन सरकारसँग आग्रह गरेको छ । मन्त्री भण्डारीलाई अहिलेको अवस्था र सरकारका पहलका बारेमा वरिष्ठउपाध्यक्ष घिमिरेले जानकारी गराएका थिए । भेटमा उपाध्यक्ष सुजित बस्नेत, भरत कार्की, महासचिव रामचन्द्र पराजुली र सचिव तुलसी राउत पनि सहभागी थिए ।
संघका पदाधिकारीले केरुङ्ग नाकाको सडक तत्काल मर्मत गर्न चीनसँग समन्वय गर्न सरकारलाई दवाव दिएका छन् । समयमा आपूर्ति सुनिश्चित नभए उपभोक्ता मात्रै होइन, समग्र बजार व्यवस्थामै असन्तुलन आउने उनीहरूको भनाइ छ ।
सामान रोकिँदा राज्यलाई पनि अरवौ राजस्व घाटा परिरहेको छ । सामान नेपाल ल्याउन छिटो पहल नगर्ने हो भने राज्यलाई पनि राजस्व घाटा हुने व्यवसायीहरु बताउँछन् ।






