सिन्धुली : मध्यरातको सुनसान सडक, गन्तव्य खोटाङ र यात्रु बोकेर अघि बढिरहेको जिप। तर, यात्रा गन्तव्यमा पुग्न नपाउँदै सिन्धुलीको नागथानमा भयावह दुर्घटनामा परिणत भयो । यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन् ।

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २ः३० बजे सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो ।
दुर्घटनाको खबरसँगै घटनास्थलमा उद्धारको प्रयास गरिएको थियो। सिन्धुली प्रहरीका अनुसार जिपमा सवार तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।
घाइते हुनेमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन् ।
दुर्घटनामा तीन जनाको अवस्था अझै अज्ञात छ । सुनकोशी नदीमा खसेको जिपमा सवार उनीहरूको खोजी तथा उद्धारका लागि थप प्रयास आवश्यक देखिएको छ ।
एउटै दुर्घटनाले तीन परिवारमा शोक छाएको छ भने घाइतेहरू उपचाररत छन् । दुर्घटनाको कारणबारे भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।
सुनकोशीमा भएको यो दुर्घटनाले लामो दूरीको रात्रिकालीन यात्रामा यात्रु सुरक्षा र सडक सुरक्षाको संवेदनशीलतालाई फेरि उजागर गरेको छ।






