दुबई ।

सिन्धुपाल्चोक सेवा समाज यूएईले आइतबार वरदुबईस्थित गाउँवेसी रेष्टुरेन्टमा जिल्लावासी चेलीबेटीलाई दर खुवाउँदै मनोरञ्जनात्मक तीज कार्यक्रम सम्पन्न गरेको छ।
३१ अगस्टका दिन आयोजित कार्यक्रममा समाजका पदाधिकारी र सदस्यहरूले उपस्थित महिलाहरूलाई दर खुवाएका थिए। रंगीन सारी–चोलो र रंगीचंगी चुरा–पोतेमा सजिएका चेलीहरूले तीजका गीतमा नाचगान गर्दै नेपालमै हुने तीज पर्वको झल्को दिएको देखिन्थ्यो।
समाजका अध्यक्ष सुभाष न्यौपानेका अनुसार संस्थाले स्थापना कालदेखि नै औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू गर्दै आएको छ। “यूएईमा रहेका सिन्धुपाल्चोकवासीलाई एकजुट गर्दै समाजलाई अझ सबल बनाउन यसपटकको तीज कार्यक्रम आयोजना गरिएको हो,” अध्यक्ष न्यौपानेले भने।
पूर्वअध्यक्ष दिपक राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुनिल तामाङ, महासचिव विश्व भुजेललगायतका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता थियो। ४८ डिग्रीको तातो घामको पर्वाह नगरी मध्यान्हदेखि नै तयारीमा खटिएका सदस्यहरूले कार्यक्रमलाई सफल र सौहार्दपूर्ण बनाउन योगदान दिएका थिए।
महासचिव भुजेलका अनुसार यसपटकको पहिलो तीज कार्यक्रमको सफलतासँगै आगामी दिनमा नेपालबाट कलाकार निम्त्याई बृहत सांस्कृतिक कार्यक्रम गर्ने योजना बनेको छ।
समाजले कामको सिलसिलामा वा अन्य कारणले युएई पुगेर अलपत्र परेका वा मृत्यु भएका व्यक्तिलाई सहयोग गर्दै नेपाल फर्काउने कार्यमा समेत संलग्न रहँदै आएको छ। सिन्धुपाल्चोकमा विपत्ति आउँदा पनि समाजले सहयोग गर्ने गरेका उदाहरणहरू रहेको अध्यक्ष न्यौपानेले स्मरण गरे।
अध्यक्ष न्यौपानेले सयभन्दा बढी जिल्लावासीको सहभागिताले यसपटकको तीजलाई विशेष र सफल बनाएको बताए।






