काठमाडौँ ।

नेकपा एमालेले पार्टीमा देखिएका विसंगतिहरूलाई सच्याउनुको साटो उल्टो दम्भ देखाउने काम भइरहेको उल्लेख गरेको छ ।
पार्टी अनुशासन आयोगले ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्र देखिएका विसंगतिहरूलाई उल्लेख गरेको हो ।
केशव प्रसाद बडाल अध्यक्ष रहेको उक्त आयोगले प्रतिवेदनमा पार्टीका कतिपय नेताहरूको जीवनशैली बदलिएको र खर्चालु भएको अवस्था रहेको उल्लेख छ ।
त्यस्तै, कतिपय नेताहरूको व्यवहारमा देखिएको बडप्पन, रुखो वचन तथा आक्रामक गाली गलौचको शैलीलाई जनताले नरुचाएको पनि उल्लेख छ ।
‘पार्टीभित्र र जनसङ्गठनमा यौनजन्य आचरणहरू समेत देखिन कतैकतै थालेका छन् । जनस्तरबाट नै प्रश्न उठिसकेपछि समेत आचरणहरूलाई सच्याउनुको सट्टा सार्वजनिक रूपमा दम्भ प्रकट भइरहनु दुःखद् कुरा हो,’ आयोगका अध्यक्ष बडालको प्रतिवेदनमा भनिएको छ ।
पार्टीमा साङ्गठनिक अराजकता चुनौतीकै रूपमा अघि बढेको प्रतिवेदनमा भनिएको छ ।
‘‘कतिपय नेताहरूबिच एक आपसमा परस्पर विश्वास नभएको अवस्था छ । कमिटीमा रहेकाहरूलाई कमिटीमा छु भन्ने अनुभूति नभएको सम्मते देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कतिपय जनप्रतिनिधिहरूले पार्टी कमिटीसँग समन्वय गर्ने चासो देखाएको पनि देखिँदैन । यो गम्भीर अवस्था हो ।’






