काठमाडौँ ।

विनोद नेपाल स्मृति फाउन्डेसनको छात्रवृत्ति ईन्द्रेश्वरी माध्यमिक विद्यालयमा इन्जिनियरिङ अध्ययन गरेका २ जना विद्यार्थी सम्मानित भएका छन् ।
कक्षा ९ देखि १२ सम्मको प्राविधिक सङ्काय अन्तर्गत सिभिल इन्जिनियरिङ तर्फको सब इन्जिनियर कोर्स सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीलाई सम्मान गरिएको हो ।
फाउन्डेसनका संस्थापक अध्यक्ष डा. गङ्गादत्त नेपालका अनुसार मेलम्ची १०का राजु दनुवार र मेलम्ची ६ की निरुता आचार्यलाई सम्मान गरिएको हो ।
फाउन्डेसनले अहिले इन्द्रेश्वरीमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका पाँच जना छात्रछात्रालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । भने आगामी वर्षबाट कक्षा ९मा अध्ययन गर्नेलाई समेट्न सकिने उल्लेख गरिएको छ ।
समाजसेवी गङ्गादत्त नेपालको छोरा विनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा २०७६ सालमा कार दुर्घटनामा परि निधन भएको थियो । उनको सम्झनामा गठन गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।
अमेरिकामा पढ्न गएको ३ महिनामा विनोदको निधन भएको थियो । इन्जिनियरिङको उच्च अध्ययन गरेर देशको भविष्य सुधार्ने योजनाका साथ अध्ययन गर्न गएका विनोदको सपना पूरा नभएको र त्यो सपना पूरा गर्नको लागि फाउन्डेसनले काम गरिरहेको अध्यक्ष नेपालको भनाई छ ।






