बाह्रबिसे ।
युवा व्यवसायी बेदबहादुर श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको आगामी माघमा हुने अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले पुस ६ गते बाह्रबिसेमा सम्पन्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ३०औँ साधारण सभालाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्।
लामो समयदेखि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठले करिब चार वर्ष अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै कुशल नेतृत्व प्रदान गरेका थिए। सबैका प्रिय र सर्वस्वीकृत व्यक्तित्वका रूपमा चिनिएका श्रेष्ठले वागमती प्रदेशका अधिकांश जिल्लाका संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा महासंघको नेतृत्वका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
छिमेकी राष्ट्र चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी तथा हिमाली जिल्ला सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्ने भएकाले श्रेष्ठको उम्मेदवारीलाई विशेष महत्वका रूपमा हेरिएको छ। अहिलेसम्म कुनै पनि विवाद वा गैरकानुनी गतिविधिमा नजोडिएका उनी स्वच्छ छवि र लोकप्रियताका कारण वागमती प्रदेश महासंघको नेतृत्व प्राप्त गर्ने बलियो सम्भावनामा देखिएका छन्। साधारण सभामा विभिन्न जिल्लाबाट उपस्थित प्रतिनिधिहरूले उनको उम्मेदवारीमा खुलेर समर्थन जनाएका थिए, जसका कारण सभाहल तालीको गडगडाहटले गुञ्जायमान बनेको थियो।
यसअघि, २०८१ चैत २८ र २९ गते सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ साधारण सभा तथा अधिवेशनका लागि सिन्धुपाल्चोकबाट जिल्ला/नगरतर्फको खुला केन्द्रीय सदस्यमा श्रेष्ठलाई एकमात्र उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिएको थियो। तत्कालीन संघ अध्यक्ष होमबहादुर बस्नेतको नेतृत्वमा बसेको पूर्ण कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। त्यस अवसरमा केन्द्रीय सदस्य कमल कुमार श्रेष्ठको समर्थनमा निबर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेर प्रतिस्पर्धामा उत्रिएका थिए र विजयीसमेत भएका थिए।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष रहँदा श्रेष्ठले विभिन्न प्राकृतिक विपद्को सामना गर्नुपरेको थियो। ती कठिन घडीमा उनले निजी क्षेत्रको तर्फबाट सरकारी निकायहरूसँग समन्वय गर्दै उल्लेखनीय सहयोग पुर्याएका थिए। निर्णय क्षमता र समन्वयात्मक भूमिकामा अब्बल रहेका उनी सबैको विश्वास जित्न सफल भएका थिए।
सामाजिक उत्तरदायित्वका क्रममा उनले बाह्रबिसे र भोटेकोशी क्षेत्रका अधिकांश विद्यालयहरूमा शैक्षिक सामग्री वितरण, विभिन्न सामाजिक तथा नागरिक संस्थाले आयोजना गर्ने दिवस, खेलकुद प्रतियोगिता, मेला–महोत्सवहरूमा आर्थिक सहयोग, खेलकुद सामग्री तथा झोला प्रायोजन गर्दै आइरहेका छन्।
हाल बेदबहादुर श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सल्लाहकार सभापतिका रूपमा क्रियाशील रहेका छन्।








