नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर एकले चुनावी माहोल सिर्जना गर्ने उद्देश्यले चुनावी सभा आयोजना गरेको छ। चुनावी गतिविधिलाई तीव्र बनाउने लक्ष्यसहित सभा गरिएको काँग्रेसले जनाएको छ।

सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा निर्वाचनको झल्को दिने गरी राष्ट्रियसभा तथा समानुपातिकतर्फ सिफारिस भएका उम्मेदवारहरूको तस्बिरसमेत ब्यानरमा समावेश गरिएको छ ।
काँग्रेस नेता विमलप्रसाद पौडेलका अनुसार यस क्षेत्रमा काँग्रेस सशक्त छ भन्ने सन्देश दिन चुनावी कार्यक्रम र गतिविधि सञ्चालन गरिएको हो।
यसअघि क्षेत्रीय समितिले प्रत्यक्षतर्फ मोहनबहादुर बस्नेतको एकल नाम सिफारिस गरेको थियो। तर जिल्ला कार्यसमितिले भने बस्नेतसहित अन्य आकांक्षीहरूको नाम पनि समेटेर माथिल्लो निकायमा सिफारिस गरेको छ।






