२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा नेकपा एमालेको उम्मेदवार सिफारिसमा विवाद देखिएको छ ।

जिल्ला कमिटी बैठकले पार्वत गुरुङको एकल उम्मेदवार सिफारिस गर्ने षडयन्त्र गरेको भन्दै अर्का नेता बालकृष्ण शिवाकोटीले असन्तुष्टि जनाएका छन् ।
उम्मेदवार सिफारिस विवादित बनेपछि दोलखा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले उम्मेदवार बन्न इच्छुक अन्य नेताहरूको नाम पनि थपेर सिफारिस गरिने बताए ।
‘एमाले दोलखाले गुरुङलाई एकल उम्मेदवार बनाउने र अन्य इच्छा प्रकट गर्ने नेताहरूको पनि नाम लेखी पठाउने निर्णय भएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘उम्मेदवार बन्न इच्छुक नेताहरू बालकृष्ण शिवाकोटी, रचना खड्का र श्याम बस्नेतको नाम लेखेर पार्टी केन्द्रमा पठाउने निर्णय भएको छ ।’
शिवाकोटीले आफू २०७९ सालमा सम्पन्न आम निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भई ३१५ मतको अत्यन्तै न्यून अन्तरले पराजित भएको व्यक्ति भएको र जिल्ला कमिटी दोलखाको ११औं बैठकमा उक्त निर्वाचनमा पराजयको कारणलाई लिएर ‘कमजोर उम्मेदवार भएकाले पराजित भएको’ भन्ने लाञ्छना लगाएर योगदानको अवमूल्यन गरिएकोप्रति अत्यन्तै दुःखद र आपत्तिजनक विषय भएको बताए ।
‘महागठबन्धन पराजयको प्रमुख कारण हो भन्ने समीक्षा पार्टीले गर्दागर्दै पराजयलाई व्यक्ति विशेषको कमजोरीसँग मात्र जोडेर हेर्नु तथ्यपरक, न्यायोचित र संगठनात्मक मूल्य(मान्यताअनुसार नभएको मेरो स्पष्ट धारणा छ,’ सिवाकोटीले विज्ञप्तिमा भनेका छन् । यता सिफारिसमा एकलौटी गरेको भन्दै जिल्ला कमिटी उपसचिव हरि ओलीसहित जिल्ला कमिटीका सदस्यहरुले सामुहिक राजीनामा दिएका छन् । पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामा दिएका हुन् ।






