आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) का नेता शेरबहादुर तामाङ सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन्। लामो समयदेखि जिल्लाको राजनीतिमा सक्रिय तामाङले आफ्नो उम्मेदवारीलाई जनताको भरोसा र जिम्मेवारीसँग जोडेर प्रस्तुत गरेका छन्।
उम्मेदवारी घोषणाका क्रममा तामाङले संसदलाई जनताको आवाज बोल्ने थलो बनाउने, नीति निर्माणमा इमानदार हस्तक्षेप गर्ने र सुशासनलाई प्राथमिकतामा राख्ने बताए। उनले व्यक्तिगत सुविधा वा लाभ भन्दा सार्वजनिक हितलाई केन्द्रमा राखेर राजनीति गर्दै आएको दाबी गरे।
“जीवनमा कठिनाइ आउन सक्छ, तर भ्रष्टाचार सँग सम्झौता हुँदैन,” तामाङले भने, “निष्ठा र पारदर्शिता नै मेरो राजनीतिक परिचय हो।” जनप्रतिनिधिका रूपमा रहँदा जिल्लाको इज्जत जोगाउने गरी काम गरेको र जनअपेक्षाबाट विचलित नहुने प्रयास निरन्तर गरेको उनको भनाइ छ।
उनले सार्वजनिक गरेका प्रतिबद्धताहरूमा प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार, कमीशन प्रथाको अन्त्य, कृषि तथा स्थानीय उद्योगको पुनर्जीवन प्रमुख छन्। गाँजा खेतीलाई कानुनी दायरामा ल्याउने विषयलाई उनले आर्थिक सम्भावनासँग जोड्दै उठाएका छन् भने कोदोबाट उत्पादन हुने रक्सीलाई ब्रान्डिङ गरी निर्यातयोग्य बनाउने योजना पनि अघि सारेका छन्।
स्वास्थ्य क्षेत्रमा सबै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने र ऊर्जा क्षेत्रमा घरायसी विद्युत् निःशुल्क बनाउने विषयलाई दीर्घकालीन सामाजिक सुरक्षासँग जोडेर प्रस्तुत गरिएको छ।
पार्टी नेतृत्वले दिएको जिम्मेवारीप्रति आभार प्रकट गर्दै तामाङले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल तथा पार्टी पंक्तिको विश्वासलाई काम मार्फत प्रमाणित गर्ने बताएका छन् । उनले आगामी निर्वाचनमा मतदाता, शुभेच्छुक र कार्यकर्ताको सक्रिय साथको अपेक्षा गरेका छन्।
जिल्लाका अग्रज नेता र कार्यकर्ताप्रति सम्मान व्यक्त गर्दै तामाङले सिन्धुपाल्चोकको विकास मात्र नभई देशको समग्र समृद्धिका लागि संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सम्पुर्णमा आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन्।







