मेलम्ची।

सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ का उम्मेदवार शेरबहादुर तामाङको सचिवालयले तस्वीर दुरुपयोग भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। सचिवालयका अनुसार तामाङविरुद्ध समाचार सम्प्रेषण गर्ने क्रममा उनकै पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताको तस्वीर प्रयोग गरिएको छ, जुन तथ्यपरक नभएको दाबी गरिएको छ।
यस विषयमा दैनिक पत्रिका अन्नपूर्ण पोष्ट मा प्रकाशित समाचारप्रति पनि आपत्ति जनाइएको छ। घरदैलो कार्यक्रमसम्बन्धी समाचारमा वडा कमिटी अध्यक्षको तस्वीर राखिएकोप्रति सम्बन्धित व्यक्तिले समेत खण्डन गर्नुभएको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार घरदैलो कार्यक्रमलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको छ। बद्री पौडेलले समाचारमा प्रयोग गरिएको तस्वीर र सामग्री तथ्यसँग नमिल्ने बताउँदै यथार्थपरक र जिम्मेवार पत्रकारिताको अपेक्षा गरिएको जानकारी दिनुभयो।
सचिवालयले सञ्चारमाध्यमलाई सत्य–तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै यस्ता गतिविधिले मतदाता र सर्वसाधारणमा भ्रम सिर्जना गर्ने चेतावनी दिएको छ । यस बिषयमा अन्नपूर्ण पोष्ट दैनिकले गल्ती स्वीकार गरेको छ ।






