काठमाडौँ ।

नरेशलाल श्रेष्ठ विगत साढे तीन दशकदेखि नेपालको निकासी व्यापार र उद्योग क्षेत्रमा परिचित नाम हो । सिन्धुपाल्चोकमा जन्मिएका उनी महासङ्घको वस्तुगततर्फको उपाध्यक्ष पदका बलिया दाबेदार हुन् ।
उनले नेपालको ऊन, फेल्ट, हाते कागज र हस्तकलाजन्य सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन अग्रणी भूमिका खेलेका छन् । निर्यातबाहेक उनी पर्यटन (होलिडे एक्सप्रेस होटल), ऊर्जा (ब्राइटर पावर कम्पनी) र स्वास्थ्य (नेपाल क्यान्सर हस्पिटल) क्षेत्रमा पनि नेतृत्वदायी भूमिकामा छन् ।
नेपाल निकासी परिषद्को अध्यक्ष, नेपाल ऊन फेल्ट उत्पादक तथा निकासी सङ्घको ३ कार्यकाल अध्यक्ष र महासङ्घको दुई कार्यकाल कार्यकारिणी सदस्य भएर उनले काम गरिसकेका छन् । फाउन्डेसनमार्फत उनले शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनमा पनि काम गर्दै आएका छन् । सरकारले उनलाई ‘सीआईपि सम्मान–२०८२’ बाट विभूषित गर्ने निर्णय गरेको थियो ।
उनले ‘स्वदेशी उत्पादनको ब्रान्डिङ र निर्यात वृद्धि’ लाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । महासङ्घभित्रको पक्ष–विपक्षको राजनीति अन्त्य गर्दै निजी क्षेत्रलाई एकढिक्का बनाउने उनको प्रतिबद्धता छ । अबको नेतृत्वले उद्योगीका समस्यालाई सरकारसँग ‘लबििङ’ मात्र होइन, समाधान नै गर्नुपर्ने उनको भनाइ छ ।






