मेलम्ची । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा शक्ति प्रदर्शन गरेको छ। चुनावी प्रचार अभियान अन्तर्गत मेलम्चीबाट सुरु भएको भव्य र्याली चौतारासम्म पुगेको थियो। र्यालीमा हजारौं कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
झण्डा, ब्यानर र चुनावी नारा सहित अघि बढेको र्यालीमा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिन्थ्यो। विभिन्न स्थानमा समर्थकहरूले उम्मेदवारलाई स्वागत गर्दै फूलमाला अर्पण गरेका थिए। मेलम्ची बजार हुँदै चौतारासम्म पुगेको जुलुसले चुनावी माहोल तातिएको संकेत गरेको स्थानीयले बताएका छन्।
र्यालीपछिको सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेरबहादुर तामाङ ले एमाले झनै मजबुत भएर जनतामाझ आएको दाबी गरे। उनले विगतका उपलब्धि र विकास निर्माणका कामलाई निरन्तरता दिन एमालेको विजय आवश्यक रहेको उल्लेख गरे। “देशभर एमालेको पक्षमा जनलहर देखिएको छ, हामी एकसय पचासभन्दा बढी सिट जित्छौं,” उनले भने।
तामाङले सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा एमालेले जित हासिल गर्ने विश्वास व्यक्त गरे। विकास, सुशासन र स्थायित्वका लागि एमालेको विकल्प नभएको उनको भनाइ थियो। कार्यक्रममा प्रदेश तथा स्थानीय तहका नेताहरूले समेत सम्बोधन गर्दै पार्टीलाई विजयी गराउन आह्वान गरेका थिए।







