काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले शैक्षिक सत्र सुरू हुनु अघि नै विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही गर्न निर्देशन दिएको छ । नियमविपरीत भर्ना प्रक्रिया सञ्चालन गरी चर्को शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले यस्तो कदम चालेको हो ।
अधिकांश निजी विद्यालयहरूले ‘एन्युअल फी’ शीर्षकमा भर्ना शुल्क उठाउँदै आएको पाइएको छ, जसलाई मन्त्रालयले गैरकानुनी भनेको छ ।
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लाई पत्राचार गर्दै देशभरका ७५३ वटै स्थानीय तहमार्फत विद्यालयहरूको अनुगमन गर्न र नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।
कतिपय विद्यालयहरूले शैक्षिक सत्र सुरू नहुँदै विद्यार्थी भर्ना गर्ने, स्वीकृत शीर्षकभन्दा बाहिर गएर शुल्क लिने र एउटै विद्यालयमा अर्को कक्षामा जाँदा पनि पटक–पटक भर्ना शुल्क लिने गरेको भन्दै मन्त्रालयले त्यसलाई गैरकानुनी भनेको छ ।
मन्त्रालयको पत्रमा ‘शिक्षा नियमावली २०५९’ अनुसार शैक्षिक सत्र सुरू नभई विद्यार्थी भर्ना गर्न नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख छ । साथै, प्रचलित कानूनविपरीत लिइएको अग्रिम शुल्क तत्काल फिर्ता गराउन पनि निर्देशन दिइएको छ । अटेरी गर्ने विद्यालयमाथि कडा कारबाही गरिने चेतावनी दिइएको छ ।







