काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको दाहसंस्कार सम्पन्न भएको छ । दाहसंस्कार कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छन् ।
स्वयम्भूस्थित दाहसंस्कार स्थलमा पुगेका गृहमन्त्री गुरुङले स्वर्गीय लामाको शव बोकेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
गत चैत २९ गते तार्केश्वर नगरपालिका–८ डाँडागाउँमा लामाले चलाएको बागमती प्रदेश–०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका लामाको उपचारका क्रममा बिएण्डबी अस्पतालमा निधन भएको थियो ।
जापानमा रहेकी उनकी पत्नी तथा परिवारका सदस्य आउन ढिला भएपछि शुक्रबार मात्र दाहसंस्कार गरिएको हो ।
इन्स्पेक्टर लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए ।







