भक्तपुर: भक्तपुरको मनोहरा किनारा स्थित सुकुम्बासी बस्ती भत्काउने कार्य आज बिहानदेखि पुनः सुरु गरिएको छ। हिजो साँझ स्थानीयसँग भएको ढुंगामुढापछि रोकिएको टहरा हटाउने काम फेरि अघि बढाइएको हो। हिजोको झडपमा २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।
सम्भावित प्रतिवाद रोक्न काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार १३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी गरी १९०० सुरक्षाकर्मी परिचालन गरेर संरचना हटाउने काम भइरहेको छ।
स्थानीय बासिन्दाले आफैं घरटहरा भत्काउने प्रतिबद्धता जनाएपछि बिहान ९ बजेसम्म समय दिइएको थियो। त्यसपछि अधिकांश परिवारले सामान सारेर घर खाली बनाएपछि डोजर चलाइएको प्रहरीले जनाएको छ।







