काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको १३ औं महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी पौडेललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।
हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाशमा जाँदै छन्। वरिष्ठताका आधारमा पौडेललाई नयाँ आईजीपीको जिम्मेवारी दिइएको सरकारले जनाएको छ।
२०५४ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका पौडेल २०७९ जेठ ६ गते एआईजीमा बढुवा भएका थिए। अनुभवी अधिकृतका रूपमा चिनिने पौडेलको कार्यकाल हालको ३० वर्षे उमेर हद कायम रहे करिब २३ महिनाको हुने बताइएको छ।
यस्तै, प्रस्तावित नयाँ प्रहरी नियमावलीअनुसार उमेर हद ३२ वर्ष कायम भए उनको कार्यकाल थप दुई वर्ष लम्बिन सक्नेछ। पौडेलको नियुक्तिसँगै सशस्त्र प्रहरी बलले नयाँ नेतृत्व पाएको छ।







