काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठान, बौद्धको आयोजनामा संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक स्वर्गीय बुद्धिबहादुर (अमिर) थापाको निधनको ४५औँ दिनको अवसरमा श्रद्धाञ्जली तथा स्मृति सभा सम्पन्न भएको छ।
प्रतिष्ठान अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा शिक्षाविद्, बुद्धिजीवी, समाजसेवी, साहित्यकार तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरूले स्वर्गीय थापालाई संघर्षशील, इमानदार र कर्तव्यनिष्ठ व्यक्तित्वका रूपमा स्मरण गर्दै शिक्षा, साहित्य, सामाजिक जागरण तथा मानव सेवामा उहाँले पुर्याएको योगदान अतुलनीय रहेको बताएका थिए। विभिन्न वक्ताहरूले उहाँका विचार, आदर्श र जीवनदर्शन भावी पुस्ताका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे।
कार्यक्रममा स्वर्गीय थापाकी सुपुत्री सङ्गीता थापाले “अमिरशोभा शिक्षा तथा साहित्य पुरस्कार कोष” स्थापनाका लागि ११ लाख ९४ हजार २ सय २६ रुपैयाँको चेक अरुणिमा परोपकार प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभयो।
त्यसैगरी, सहभागीहरूले स्वर्गीय थापासँग सम्बन्धित प्रेरणादायी अनुभवहरू साझा गर्दै उहाँको समाज सुधार, सांस्कृतिक संरक्षण र सेवाभावको प्रशंसा गरेका थिए। कार्यक्रममा ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्रकी सञ्चालिका ब्रह्मकुमारी गङ्गाले आध्यात्मिक दृष्टिकोणबाट स्वर्गीय थापाको जीवन स्मरण गर्दै उहाँको सकारात्मक सोच र मानवताप्रतिको समर्पण अनुकरणीय रहेको बताउनुभयो।
कार्यक्रममा परिवारका तर्फबाट सुशील थापाले उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभएको थियो।







