सिन्धुपाल्चोक । जिल्लाको खाडिचौर क्षेत्रमा रहेको बालशिक्षा माध्यमिक विद्यालयदेखि अँधेरीसम्मको सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाइएको छ। विद्यालयको नाममा रहेको उक्त जग्गामा हाल एक सयभन्दा बढी घर तथा टहरा निर्माण गरिएको छ ।
स्थानीयका अनुसार अतिक्रमण गरेर बनाइएका संरचनाहरू आपसमा तमसुकका आधारमा किनबेचसमेत हुने गरेको छ। कानुनी रूपमा स्वामित्व स्पष्ट नभए पनि अनौपचारिक रूपमा कारोबार चलिरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
देशभर सार्वजनिक जग्गा संरक्षण र सुकुम्बासी बस्ती व्यवस्थापन अभियान अघि बढाइरहेको वर्तमान सरकारको ध्यान अब सिन्धुपाल्चोकतर्फ पनि जाने अपेक्षा स्थानीयले गरेका छन्। राजधानी लगायत विभिन्न शहरमा यस्ता बस्ती व्यवस्थापन भइरहेको सन्दर्भमा खाडिचौरको बस्ती पनि हट्ने सम्भावना रहेको उनीहरूको भनाइ छ, यद्यपि कहिले हटाइन्छ भन्नेबारे स्पष्ट जानकारी भने छैन ।
अरनिको राजमार्गमा पर्ने खाडिचौर कुनै समय चीनबाट आयातित सामान किन्न आउने ग्राहकले भरिभराउ हुने प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिन्थ्यो । तर अहिले सुनकोशी नदी किनारमा सडकछेउमा बनेका घरटहरा र तिनमा सञ्चालन भइरहेका व्यवसायहरू सरकारको अभियानका कारण जोखिममा पर्न सक्ने देखिएको छ ।
स्थानीय तह र सम्बन्धित निकायले सार्वजनिक जग्गा संरक्षणसँगै प्रभावित बासिन्दाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा स्पष्ट योजना ल्याउनुपर्ने आवाज उठ्न थालेको छ ।







