काठमाडौँ । नेपाल बैंकले भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडको नाममा रहेको धितो लिलामी गर्ने प्रक्रिया अघि बढाएको छ ।

बैंकको कर्जा असुली विभागले २०८३ जेठ १ गते एक सार्वजनिक सूचना जारी गर्दै रिसोर्टले लिएको व्यापारिक तथा चालु पुँजी कर्जाको सावाँ-ब्याज नतिरेपछि ३५ दिने लिलामीको सूचना निकालेको हो । बैंकले ऋणीलाई २०८३ असार ४ गतेसम्म कर्जा चुक्ता गर्ने अन्तिम मौका दिएको छ ।
सूचना अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-५ (साविक मार्मिङ-०१) मा रहेको कुल २७ रोपनी ६ आना जग्गा र त्यसमा बनेको रिसोर्ट संरचना लिलाम हुने सूचीमा छन् । यसमा कित्ता नम्बर १३६, ५७२, ६७० र १७८ का जग्गाहरू समावेश छन् ।
बैंकले पटक-पटक ताकेता गर्दा पनि ऋण नतिरेपछि धितो लिलामीको अवस्था आएको जानकारी दिएको छ ।
यस कर्जाको व्यक्तिगत जमानीकर्ताहरूमा चिन बहादुर रानाभाट (कास्की), समिर कुमार नेपाल (मोरङ), छिरिङ शेर्पा (सिन्धुपाल्चोक) र सुबास प्रधान (नुवाकोट) रहेका छन् ।
तोकिएको ३५ दिनको म्यादभित्र ऋण राफसाफ नगरे ऋणी र जमानीकर्ता दुवैलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।
लिलामी प्रक्रिया २०८३ असार ५ गते बिहान ११ बजे काठमाडौँ बैंकिङ अफिसमा हुने तय गरिएको छ ।
लिलामीमा सहभागी हुन चाहनेले आफूले कबोल गरेको रकमको १० प्रतिशत धरौटी तत्काल बैंकमा जम्मा गर्नुपर्ने सर्त राखिएको छ ।
यदि लिलामीबाट प्राप्त रकमले बैंकको सम्पूर्ण लेना रकम असुल नभएमा ऋणी तथा जमानीकर्ताहरूको अन्य चल-अचल जायजेथाबाट समेत बाँकी रकम असुल उपर गरिने बैंकले चेतावनी दिएको छ । बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को अधिकार प्रयोग गरी यो लिलामी प्रक्रिया अघि बढाएको हो ।






