काठमाडौं, जेठ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ ।
प्रहरीका अनुसार महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादका क्रममा आफ्नै सालो नाता पर्ने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका हुन् ।
गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो । उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।
घटनापछि चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ । मृतकको शव जाँच मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







