काठमाडौं: बजारमा ग्यास अभावको हल्ला चलिरहेका बेला बाँकेको नेपालगन्जमा उपभोक्तालाई ‘ग्यास छैन’ भन्दै फर्काउने एक किराना पसल कारबाहीमा परेको छ । अनुगमनका क्रममा पसलभित्रै १३ वटा ग्यास सिलिन्डर लुकाएर राखिएको फेला परेपछि प्रशासनले पसल सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकस्थित सदरलाइनमा रहेको उक्त किराना पसलमा आइतबार सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङको नेतृत्वमा बजार अनुगमन गरिएको थियो । अनुगमन टोली पुगेपछि पसलभित्र बिक्रीका लागि राखिएका ग्यास सिलिन्डर लुकाइएको अवस्थामा भेटिएको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार पछिल्लो समय उपभोक्ताबाट ग्यास उपलब्ध हुँदाहुँदै पनि बिक्री नगरेको र ‘स्टक सकिएको’ भन्दै फर्काउने गरिएको गुनासो बारम्बार प्राप्त भइरहेको थियो। सोही गुनासोका आधारमा गरिएको अनुगमनमा पसलले उपभोक्तालाई गलत जानकारी दिँदै ग्यास लुकाएर राखेको पुष्टि भएको हो ।
अनुगमन टोलीले पसलमा १३ वटा ग्यास सिलिन्डर फेला पारेपछि तत्काल आवश्यक कागजात र स्टक विवरण समेत जाँच गरेको थियो । उपभोक्तालाई आवश्यक वस्तु उपलब्ध हुँदाहुँदै बिक्री नगर्नु तथा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास गर्नु उपभोक्ता हितविपरीत कार्य भएको ठहर गर्दै प्रशासनले जरिवाना गरेको जनाएको छ ।
प्रशासनका अनुसार बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, वस्तु लुकाउने तथा उपभोक्तालाई भ्रममा पार्ने गतिविधि नियन्त्रणका लागि अनुगमनलाई थप प्रभावकारी बनाइनेछ । विशेषगरी दैनिक उपभोग्य वस्तु, खाना पकाउने ग्यास, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति र बिक्री वितरणमाथि निगरानी बढाइएको प्रशासनले जनाएको छ ।
स्थानीय उपभोक्ताले पनि ग्यास उपलब्ध हुँदाहुँदै बिक्री नगर्ने र अभावको बहाना बनाउने प्रवृत्तिमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् । प्रशासनले उपभोक्तालाई कुनै पनि प्रकारको अनियमितता, कालोबजारी वा कृत्रिम अभाव सम्बन्धी जानकारी भए सम्बन्धित निकायमा सूचना दिन आग्रह गरेको छ ।
बजारमा अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न र उपभोक्ताको अधिकार संरक्षण गर्न यस्ता अनुगमनलाई निरन्तरता दिइने बाँके प्रशासनले जनाएको छ ।







