काठमाडौँ : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई प्राथमिकता दिँदै विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्तालाई रोकिएको रकम फिर्ता गरेको छ ।
प्राधिकरणका अनुसार प्रक्रिया पूरा गरी सम्बन्धित सहकारीका बचतकर्तालाई बचत रकम फिर्ता गरिएको हो। रकम फिर्ता पाउनेमध्ये ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारीका मात्रै १७४ जना रहेका छन् ।
त्यस्तै, अन्य नौ सहकारीका २३ जना बचतकर्ताले पनि विभिन्न परिमाणमा आफ्नो बचत फिर्ता पाएका छन् ।
रकम फिर्ता गरिएका सहकारीमा संकटा बचत तथा ऋण, वीर विनायक बचत तथा ऋण, समदर्शी उपभोक्ता, पूर्वोदय बचत तथा ऋण, अर्थ बहुउद्देश्यीय, श्वेत भैरव बचत तथा ऋण, सिर्जनशील बचत तथा ऋण, ब्रिटिस गोर्खा बचत तथा ऋण, गेनबेल बचत तथा ऋण र शोभा भगवती बहुउद्देश्यीय सहकारी रहेका छन् ।
प्राधिकरणले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै बचतकर्ताको रकम फिर्तालाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइरहेको जनाएको छ । पछिल्लो समय रोकिएको बचत फिर्ता गर्ने कार्यलाई थप प्रभावकारी बनाउँदै लगिएको प्राधिकरणको भनाइ छ ।







