भक्तपुर : नापजाँच सम्पन्न भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारले जग्गाधनी पुर्जा पाएका छन् ।
भूमि समस्या समाधान समितिले साविक निलबाराही गाउँ विकास समिति–२, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक प्रक्रिया पूरा गरी ४२१ थान लालपुर्जा वितरण गरेको हो।
उक्त क्षेत्रको जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मै सम्पन्न भएको थियो । पुरानो नेवारी बस्तीका रूपमा रहेको यस क्षेत्रलाई स्थानीयस्तरमा ‘बोदे गाउँ’का नामले चिनिन्छ ।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा लालपुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो । आयोगबाट नापनक्सा भइसकेका जग्गाको बाँकी प्रक्रिया पूरा गर्दै पुर्जा वितरण गरिएको समितिले जनाएको छ ।
लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । यससँगै वर्षौंदेखि जग्गाको स्वामित्व प्रमाणित हुन नसकेको स्थानीयको समस्या समाधान भएको छ ।







