काठमाडौं : बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष रूपमा सिलिन्डर बिक्री गर्ने भएको छ । निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि राजधानीका पाँच स्थानमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो ।
लामो समयदेखि ग्यासको खोजीमा रहेका उपभोक्तालाई लक्षित गर्दै निगमले विभिन्न कम्पनीका सिलिन्डर एउटै स्थानबाट उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।
कहाँ–कुन ब्राण्डको ग्यास ?
टेकुस्थित निगम परिसर: नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल
चाबहिलस्थित यातायात कार्यालय परिसर: नेपाल र एचपी
किर्तिपुरस्थित राजास्वामी परिसर: नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम
बसुन्धरास्थित राजास्वामी परिसर: नेपाल, एचपी, एभरेष्ट/सुगम र भानुक ओम्
बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसर: नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य
निगमका अनुसार ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ ।
तोकिएका बिक्री केन्द्रबाट बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म ग्यास खरिद गर्न सकिनेछ ।
ग्यास अभावका कारण उपभोक्ताले खेपिरहेको समस्या तत्काल कम गर्न प्रत्यक्ष बिक्रीको व्यवस्था गरिएको निगमले जनाएको छ ।







