काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा नाफाको ग्राफ उल्लेख्य रूपमा माथि उकालेको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६०.६८ प्रतिशत बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ थियो । अर्थात् एक वर्षमै बैंकको नाफा १ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी थपिएको छ ।
बैंकको नाफा वृद्धिमा आम्दानी बढ्नुका साथै जोखिम व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकममा आएको ठूलो कमी निर्णायक बनेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २३ करोड ४४ लाख रुपैयाँ रहेको जोखिम व्यवस्थापन शुल्क समीक्षा वर्षमा घटेर ८४ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ ।
यता बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी १७.८५ प्रतिशतले बढेको छ । खुद शुल्क तथा कमिसन आम्दानीसमेत ८.३४ प्रतिशतले वृद्धि भएपछि बैंकको कुल सञ्चालन आम्दानी १४.१९ प्रतिशतले उकालो लागेको छ ।
यसको प्रभाव सञ्चालन मुनाफामा पनि देखिएको छ । बैंकको सञ्चालन मुनाफा अघिल्लो वर्षको तुलनामा ६४.२६ प्रतिशतले बढेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि सुधारिएको छ। अघिल्लो वर्षको तुलनामा ११ रुपैयाँले बढेर प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ रहेको छ। राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ छ भने जगेडा कोषमा ४० अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले वृद्धि कायम राखेको छ। समीक्षा अवधिमा निक्षेप संकलन ३७.११ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १३.६० प्रतिशतले वृद्धि भएको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।







