जाजारकाेट : जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी बेपत्ता तथा फसेका नागरिकको खोज तथा उद्धार कार्य जारी रहेको छ ।
नेपाली सेनाको भवानीदल गणबाट साउन ३१ गते साँझदेखि परिचालित टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीसँगको समन्वयमा उद्धार कार्य सञ्चालन गरिरहेको छ ।
सेनाका अनुसार हालसम्म पहिरोमा परी घाइते भएका १० जनाको उद्धार गरिएको छ भने २ जनाको शव निकालिएको छ। थप २ जना बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य जारी छ ।
यसैगरी जाजरकोटका विभिन्न तीन स्थानमा करिब ६० देखि ६५ जना मानिस फसेको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ ।
राउतेरह क्षेत्रमा फसेका मध्ये हालसम्म २० जनाको उद्धार गरिएको छ । बाँकी व्यक्तिको उद्धार कार्य पनि निरन्तर भइरहेको नेपाली सेनाले जनाएको छ ।







