काठमाडौं :भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । प्रधान सेनापति महारथी अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ आइतबार काठमाडौं आएका हुन् ।
जनरल सेठसँगै उनकी धर्मपत्नी तथा भारतीय सेनाको Army Wives Welfare Association (AWWA) की अध्यक्ष श्रीमती कोमल सेठ पनि नेपाल आएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका श्री प्रदीप जंग केसी र उनकी धर्मपत्नीले उनीहरूलाई स्वागत गरेका थिए ।
भ्रमणका क्रममा जनरल सेठले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार भारतीय स्थल सेनाध्यक्षको भ्रमणले नेपाल र भारतबीचको सैनिक सम्बन्धलाई थप विस्तार, सुदृढ र प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
जनरल सेठको भ्रमणका क्रममा दुई देशका सैन्य नेतृत्वबीच आपसी सहकार्य तथा द्विपक्षीय सैनिक सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।






