काभ्रेपलाञ्चोक : प्रहरीको जिम्मेवारीमा रहेका अधिकारी नै मध्यरातमा होटलमा युवतीसहित भेटिएपछि काभ्रेपलाञ्चोकको नमोबुद्धमा घटना चर्चामा आएको छ ।
नमोबुद्ध नगरपालिका–४ भकुण्डेस्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले नमोबुद्धस्थित एक होटलबाट युवतीसहित नियन्त्रणमा लिएका हुन् ।
स्थानीयका अनुसार श्रेष्ठलाई मध्यरातमा होटलमा युवतीसहित फेला पारेपछि उनीहरूले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका थिए। प्रहरी अधिकारीको जिम्मेवारी र मर्यादाविपरीत गतिविधि भएको भन्दै स्थानीयले उनलाई नियन्त्रणमा लिएको बताएका छन् ।
घटनापछि जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । टोलीले श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाइएको छ ।
श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट ‘उत्कृष्ट प्रहरी’ घोषित भएका थिए। उत्कृष्ट प्रहरीका रूपमा सम्मानित अधिकारी नै विवादमा तानिएपछि घटनाले थप चासो पाएको छ ।
घटनाको वास्तविकता र श्रेष्ठमाथि के-कस्तो कारबाही हुने भन्ने विषय भने प्रहरी अनुसन्धानपछि स्पष्ट हुने बताइएको छ ।






