काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँचवटा समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ ।
समितिका अनुसार शिवशिखर सहकारीका ५७, कान्तिपुर सहकारीका ५२, ओरिन्टल को–अपरेटिभका ८, तुलसी बहुमुखी सहकारीका ९ र आइडियल यमुना सहकारीका ९ जना बचतकर्तालाई रकम फिर्ता गरिएको हो ।
समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनका क्रममा प्राप्त भएको रकमबाटै बचतकर्ताको रकम फिर्ता गरिएको समितिले जनाएको छ ।
समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्न थालेको हो । आगामी चरणमा बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्दै जाने तयारी समितिको छ ।
समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनबमोजिम फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालन भइरहेको छ ।







