सिन्धुपाल्चोक : नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा ‘क’ को सभापति पदमा देवप्रसाद बानियाँले पुनः उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टीको राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल आदर्शलाई आत्मसात् गर्दै संगठनमा एकता, सहकार्य र सबैको प्रतिनिधित्व कायम गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बानियाँले बताएका छन् ।
लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय बानियाँले आफ्नो उम्मेदवारीलाई संगठन सुदृढीकरण र पार्टीभित्रको एकताका लागि भएको बताएका छन् । उनले अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर प्रदेश ‘क’ को संगठनलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साविक कुन्चोक गाविसमा जन्मिएका बानियाँले किशोरावस्थादेखि नै प्रजातान्त्रिक आन्दोलनमा सहभागिता जनाएको बताएका छन् । उनका अनुसार २०४२ सालको सत्याग्रह आन्दोलनमा सहभागी हुँदा १५ वर्षकै उमेरमा जेल जीवनसमेत भोगेका थिए ।
प्रजातन्त्रका लागि आन्दोलनका क्रममा भोगेको जेल जीवन र राज्यबाट पाएको पीडा अझै स्मरणमा रहेको उनले बताएका छन् ।
बानियाँ यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा पनि प्रदेशसभा ‘क’ सभापति पदमा उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा केशवराज गिरीसँग झिनो मतान्तरले पराजित भएका उनी यसपटक पुनः सभापति पदको प्रतिस्पर्धामा उत्रिएका हुन् ।
इन्द्रावती गाउँपालिका–३ का पूर्ववडाध्यक्षसमेत रहेका बानियाँले प्रदेश ‘क’ मा कांग्रेसको संगठनलाई एकताबद्ध, सुदृढ र समावेशी ढंगले अघि बढाउने बताएका छन् । उम्मेदवारी घोषणा गर्दै उनले पार्टीका अग्रज, नेता–कार्यकर्ता, सहकर्मी तथा शुभेच्छुकबाट साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गरेका छन् ।







