सिन्धुपाल्चोक : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टी संगठनमा लामो समयदेखि सक्रिय तामाङले विभिन्न तहमा निर्वाह गरेको जिम्मेवारी र कार्यकर्तासँगको सहकार्यलाई आधार बनाएर महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने बताएका छन् ।
तामाङ हाल मेलम्ची नगरपालिकाका प्रमुख छन्। यसअघि उनले नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेलम्ची नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि उनले स्थानीय सरकार सञ्चालनसँगै पार्टी गतिविधिमा समेत निरन्तर सक्रियता देखाउँदै आएका छन् ।
महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो अनुभवलाई संगठन सुदृढीकरणमा उपयोग गर्ने उनको भनाइ छ । कार्यकर्तासँग नियमित संवाद, संगठनमा समन्वय र पार्टीको विधि तथा विधानको पालना आफ्नो प्राथमिकतामा रहने उनले बताएका छन् ।
तामाङले कांग्रेसभित्र अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर संगठनलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार पार्टीलाई बलियो बनाउन नेतृत्वसँगै तल्लो तहका कार्यकर्ताको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
“संगठनमा गरेको निरन्तर काम र विभिन्न जिम्मेवारीबाट प्राप्त अनुभवलाई अझ प्रभावकारी रूपमा संगठन निर्माणमा लगाउने मेरो प्रतिबद्धता हो,” तामाङले भने, “सबै कांग्रेसजनको सुझाव, साथ, सहकार्य र अमूल्य मतको अपेक्षा गरेको छु ।”
उनले १५औँ महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियासँगै पार्टीको संगठन, एकता र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।







