सिन्धुपाल्चोक : नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ मा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। यसैक्रममा युवा नेता सागरकुमार श्रेष्ठले खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
‘वैचारिक नेतृत्व, गतिशील संगठन’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिनुभएका श्रेष्ठले पार्टीलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


पार्टी संगठन निर्माणसँगै सामाजिक तथा विकासका गतिविधिमा सक्रिय रहँदै आउनुभएका श्रेष्ठ मेलम्ची पुनर्निर्माण तथा पुनर्जागरण अभियानमा जोडिएको नेताका रूपमा प्रस्तुत हुनुभएको छ । बाढीपछि प्रभावित मेलम्ची क्षेत्रको पुनःउत्थानका लागि विभिन्न अभियानमा उहाँले भूमिका निर्वाह गर्नुभएको बताइएको छ ।
त्यस्तै, करिब दुई दशकअघि सिन्धुपाल्चोकको तत्कालीन क्षेत्र नं. २ लाई लोडसेडिङमुक्त बनाउने अभियानमा समेत श्रेष्ठले नेतृत्वदायी भूमिका निर्वाह गरेको उहाँको दाबी छ ।
भूकम्पदेखि कोरोना महामारीसम्मका संकटमा सक्रिय
२०७२ सालको विनाशकारी भूकम्पपछि श्रेष्ठ राहत तथा पुनर्निर्माणका गतिविधिमा सक्रिय रहनुभएको थियो । उहाँले प्रभावित गाउँहरूमा राहत सामग्री तथा आर्थिक सहयोग पुर्याउनुका साथै विद्यालयमा न्यानो कपडा र अस्थायी शिक्षण केन्द्र (TLC) निर्माणमा समेत सहयोग गरेको बताइएको छ ।
कोरोना महामारीका बेला पनि विभिन्न वडामा अक्सिजन सिलिन्डर, मास्क तथा अत्यावश्यक स्वास्थ्य सामग्री पुर्याउने अभियानमा श्रेष्ठ सक्रिय हुनुभएको थियो ।
विगतका सामाजिक तथा विकाससम्बन्धी अभियानलाई आफ्नो राजनीतिक यात्रासँग जोड्दै श्रेष्ठले कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टी संगठनलाई थप बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।
उहाँले क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधि, नेता तथा कार्यकर्तासँग सहयोग र मतका लागि अपिलसमेत गर्नुभएको छ ।






