मेलम्ची : सार्वजनिक सेवामा लामो समय बिताएका जयराम घोरासैनी अब पार्टी संगठनमार्फत जनताको आवाज उठाउने यात्रामा अघि बढेका छन्। मेलम्ची नगरपालिका–१३ निवासी घोरासैनीले नेपाली कांग्रेस क्षेत्र नम्बर २ ‘क’ अन्तर्गत प्रदेश प्रतिनिधिको खुलातर्फ उम्मेदवारी दिएका हुन् ।
मेलम्ची नगरपालिकाका पूर्व कर्मचारी घोरासैनीले निजामती सेवाका क्रममा हासिल गरेको प्रशासनिक अनुभवलाई राजनीतिक तथा सामाजिक क्षेत्रमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन् ।
सरकारी सेवामा रहँदा स्थानीय नागरिकका आवश्यकता, समस्या र सार्वजनिक सेवा प्रवाहलाई नजिकबाट बुझेको अनुभवलाई उनले आफ्नो राजनीतिक यात्राको आधार बनाएका छन् । अब त्यही अनुभवलाई पार्टी संगठनमार्फत जनतासँग जोड्ने उनको भनाइ छ ।
स्थानीयस्तरमा सहज र मिलनसार व्यक्तिका रूपमा परिचित घोरासैनी सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन् । नागरिकका समस्या सम्बन्धित निकायसम्म पुर्याउनेदेखि समाधानका लागि आवश्यक समन्वय गर्ने काममा आफूले निरन्तर भूमिका खेल्दै आएको उनी बताउँछन् ।
‘पदभन्दा पनि जनताको आवाजलाई संगठनमार्फत प्रभावकारी रूपमा उठाउने उद्देश्य हो,’ घोरासैनीले भनेका छन् ।
प्रदेश प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टी संगठनलाई बलियो बनाउने, कार्यकर्ताबीच सहकार्य बढाउने र स्थानीय तहका जनसरोकारका विषयलाई प्रदेश तथा केन्द्रसम्म पुर्याउन पहल गर्ने उनको प्रतिबद्धता छ ।
घोरासैनीको उम्मेदवारीसँगै क्षेत्र नम्बर २ ‘क’ अन्तर्गत मेलम्ची नगरपालिका–९, १० र १३, इन्द्रावती गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिकाका क्षेत्रीय प्रतिनिधिहरूमाझ उनको उम्मेदवारीबारे चर्चा सुरु भएको छ ।
निजामती सेवाको अनुभव, स्थानीय समाजसँगको सम्बन्ध र सामाजिक सक्रियतालाई आधार बनाउँदै घोरासैनीले आफूलाई मत दिन क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।







