काठमाडौ : मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये फेला परेका ८ जनाको शव नेपाली सेनाले उद्धार गरेको छ ।
नेपाली सेनाका अनुसार उद्धार गरिएका शवमध्ये २ वटा शव हवाई साधनमार्फत चामेस्थित अस्पताल ल्याइएको छ भने ६ वटा शव फूगाउँसम्म पुर्याइएको छ ।
हिमपहिरोपछि अवरुद्ध अत्यावश्यक सेवा सञ्चालनमा समेत नेपाली सेनाले सक्रियता बढाएको छ । स्थानीय तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी सेनाको टोलीले चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव खुलाउने काम गरिरहेको छ ।
त्यसैगरी, पहिरोका कारण अवरुद्ध विद्युत् प्रसारण लाइन सुचारु गर्न आवश्यक कामसमेत सेनाको टोलीले अघि बढाइरहेको नेपाली सेनाले जनाएको छ । उद्धारसँगै सडक, नदीको बहाव र विद्युत् सेवा सञ्चालनमा ल्याउन सुरक्षा निकायको टोली परिचालन गरिएको छ ।







