सिन्धुपाल्चोक : जिल्लाभरका स्थानीय तहबीच स्वास्थ्य सेवा प्रवाह र कार्यक्रम कार्यान्वयनको मूल्यांकनमा सुनकोशी गाउँपालिका पहिलो बनेको छ। आर्थिक वर्ष २०८२/०८३ को जिल्लास्तरीय स्वास्थ्य सेवा तथा कार्यक्रम कार्यसम्पादन मूल्यांकनमा सुनकोशीले पहिलो स्थान हासिल गर्दा पाँचपोखरी थाङपाल गाउँपालिका दोस्रो र त्रिपुरासुन्दरी गाउँपालिका तेस्रो भएका छन् । हेलम्बु गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ ।


स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जिल्लाका १२ वटै स्थानीय तहमा सञ्चालित स्वास्थ्य कार्यक्रम, जनस्वास्थ्य सेवाका सूचक तथा सेवा प्रवाहको अवस्थालाई आधार बनाएर मूल्यांकन गरेको हो ।
कार्यालयको वार्षिक समीक्षा तथा आगामी योजनासम्बन्धी कार्यक्रमको समापनका अवसरमा उत्कृष्ट पालिकाहरूको नाम सार्वजनिक गर्दै सम्मान गरिएको थियो । स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रमको उपलब्धि, सेवा प्रवाहको प्रभावकारिता र तथ्यांक व्यवस्थापनलगायतका पक्षलाई मूल्यांकनको मुख्य आधार बनाइएको स्वास्थ्य कार्यालयकी तथ्यांक सहायक अस्मिता श्रेष्ठले जानकारी दिनुभयो ।
उत्कृष्ट स्थान हासिल गर्ने पालिकाका प्रतिनिधिहरूलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, निमित्त प्रमुख जिल्ला अधिकारी श्रीकृष्णप्रसाद शर्मा, समन्वय अधिकारी राजेन्द्र अर्याल, चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विवेक भण्डारी, स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईं तथा स्वास्थ्य निर्देशनालय बागमतीका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेललगायतले सम्मान गर्नुभएको थियो ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत निसान सापकोटाका अनुसार मूल्यांकनबाट उत्कृष्ट ठहरिएका पालिकाहरूलाई सम्मान गरिएको हो ।
स्वास्थ्य सेवाको गुणस्तर सुधार, कार्यक्रमको प्रभावकारी कार्यान्वयन र नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गरिएको यस मूल्यांकनले स्थानीय तहहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।






