चौतारा : मासुको मूल्यमा मनपरी वृद्धि र मासु पसलको अव्यवस्थित सरसफाइप्रति उपभोक्ताको गुनासो बढ्दै गएपछि चौतारा साँगाचोकगढी नगरपालिका बजार व्यवस्थापनमा सक्रिय बनेको छ ।
नगरपालिकाले मासु व्यवसायीहरूसँग छलफल गर्दै मूल्यमा एकरूपता कायम गर्न, पसलको सरसफाइ सुधार गर्न र व्यवसाय सञ्चालनलाई व्यवस्थित बनाउन आग्रह गरेको छ ।
नगर उपप्रमुख सीता थापाको अध्यक्षतामा भएको छलफलमा मासुको मूल्य निर्धारणदेखि व्यवसाय सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपभोक्ताका समस्यासम्मका विषय उठेका थिए ।
उद्योग वाणिज्य संघले गत साउन ३१ गते निर्धारण गरेको मासुको मूल्यलाई व्यवसायीका सुझाव र प्रस्तावका आधारमा परिमार्जन गर्न सकिने विषयमा समेत छलफल भएको थियो। तर, निर्धारित मूल्यभन्दा बढी रकम असुल्ने र आफूखुसी मूल्य बढाउने प्रवृत्तिले उपभोक्ता प्रभावित भइरहेको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए ।

नगर उपप्रमुख थापाले व्यवसायीहरूलाई मूल्य, सरसफाइ र व्यवसाय सञ्चालनसम्बन्धी विषयमा लिखित प्रतिबद्धता गर्न आग्रह गरिन् । बजारलाई व्यवस्थित बनाउन स्थानीय सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
छलफलमा उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले मासु व्यवसाय सञ्चालनका कानुनी प्रावधान, आवश्यक मापदण्ड तथा नियम उल्लङ्घन गरेमा हुन सक्ने कारबाही र जरिवानाबारे जानकारी गराए ।
त्यस्तै, वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठले मासुको मूल्य र पसलको सरसफाइबारे उपभोक्ताबाट गुनासो बढिरहेको उल्लेख गर्दै व्यवसायीलाई जिम्मेवार बन्न आग्रह गरे । उनले आवश्यक पूर्वाधार र सरसफाइका मापदण्ड पूरा गरेर मात्रै मासु पसल सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा नगर क्षेत्रका मासु व्यवसायीहरूले पनि आआफ्ना धारणा राखेका थिए ।

मूल्यमा मनपरी नियन्त्रण, स्वच्छ मासुको उपलब्धता र उपभोक्ताको हित संरक्षणलाई केन्द्रमा राख्दै नगरपालिकाले व्यवसायी तथा सम्बन्धित निकायसँगको समन्वयमा बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ ।






