काठमाडौं: दशैँ, तिहार र छठमा घर फर्किने यात्रुलाई ठगी र सास्तीबाट जोगाउन प्रहरीले विशेष अभियान सुरु गरेको छ । चाडपर्वको यात्रालाई सुरक्षित र सहज बनाउन काठमाडौंको नयाँ बसपार्कमा यात्रु सहायता कक्षा–२०८३ सञ्चालनमा ल्याइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथद्वारा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले सहायता कक्षको शुभारम्भ गर्नुभयो ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने र यही मौकामा बढी भाडा असुली, टिकटमा कालोबजारी तथा यातायात क्षेत्रमा अनियमितता हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
शुभारम्भ कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राठौरले यात्रुको सुरक्षित यात्रा सुनिश्चित गर्नु प्रहरीको प्राथमिकता भएको बताउँदै यातायात व्यवसायीलाई जिम्मेवार भएर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।


उहाँले तोकिएको भाडाभन्दा बढी रकम असुल्ने, टिकटमा कालोबजारी गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र यात्रुमाथि दुर्व्यवहार गर्ने कार्य सह्य नहुने स्पष्ट पार्दै यस्ता गतिविधिमा संलग्नलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिनुभयो ।
यात्रु सहायता कक्षमा प्राप्त हुने गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित प्रहरी तथा निकायलाई निर्देशन दिँदै उहाँले यात्रुलाई आधिकारिक काउन्टरबाट टिकट लिन र कुनै पनि अनियमितता देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।
चाडपर्वको अवधिमा बसपार्कसहित यात्रुको चाप बढी हुने क्षेत्रमा प्रहरी परिचालन, सुरक्षा निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलालगायत प्रहरी अधिकारी, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
चाडपर्वमा यात्रुलाई ठगीबाट जोगाउने र सुरक्षित गन्तव्यसम्म पुग्ने वातावरण बनाउने लक्ष्यसहित सञ्चालनमा आएको सहायता कक्षले यात्रुका समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।






