चौतारा : उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चौताराको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ललितबहादुर राना भारी मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका छन् ।

अध्यक्ष पदका प्रतिस्पर्धी रानाले ९८३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मिनबहादुर बस्नेतले २३५ मत मात्रै प्राप्त गरे । रानाले ७४८ मतको फराकिलो अन्तरले विजयी हासिल गरेका हुन् ।
सामाजिक अगुवा तथा समाजसेवीका रूपमा परिचित राना सहकारीको स्थापनाकालदेखि नै संस्थाका विभिन्न पदमा रहेर काम गर्दै आएका अनुभवी व्यक्तित्व हुन् । संस्थाप्रतिको निरन्तर लगनशीलता, इमानदारी र योगदानका कारण उनले सदस्यहरूको उल्लेख्य समर्थन प्राप्त गरेको देखिएको छ ।
चौतारा आसपासका अधिकांश क्षेत्रका सदस्य आबद्ध रहेको उज्यालो सहकारीलाई सदरमुकामका ठूला सहकारी संस्थामध्ये सदस्य संख्या र पुँजीका हिसाबले अग्रणी संस्थाका रूपमा लिइन्छ ।
निर्वाचनमा उपाध्यक्ष पदमा रामबहादुर कार्की ६२२ मतसहित विजयी हुँदा लोकबहादुर कार्कीले ४४७ मत प्राप्त गरे । महिला उपाध्यक्षमा आयुषा खड्का र शारदा पुरीबीच निकै कडा प्रतिस्पर्धा भएको थियो । खड्काले ५११ मत प्राप्त गरी पुरीलाई जम्मा २ मतले पराजित गरिन् । पुरीले ५०९ मत प्राप्त गरिन् ।
त्यस्तै, सचिव पदमा हरिकुमार श्रेष्ठ ५५३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी पितम कुँवरले ४९६ मत प्राप्त गरे ।
सदस्य पदमा राजकुमार थापा ४३९ र मिनबहादुर श्रेष्ठ ३९२ मतसहित विजयी भएका छन् । अन्य उम्मेदवारमध्ये सीताराम गिरी ३०८, कुमार कार्कीले ३५७, यज्ञनाथ सापकोटाले २३४, रामशरण खत्रीले २२८ र पदमबहादुर श्रेष्ठले ५० मत प्राप्त गरेका छन् ।
यसैबीच, नरमान श्रेष्ठ कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अन्य केही पदमा समेत निर्विरोध नेतृत्व चयन भएको छ ।
नयाँ नेतृत्व चयनसँगै सहकारीका सदस्यहरूले संस्थाको सुशासन, आर्थिक पारदर्शिता र थप प्रभावकारी सेवाको अपेक्षा गरेका छन् ।






