मेलम्ची : जलवायु परिवर्तनको बढ्दो प्रभावसँगै विद्यालय तहबाटै पोषण, वातावरण संरक्षण र दिगो कृषिको अभ्यास अघि बढाउन मेलम्चीमा प्रधानाध्यापक तथा शिक्षकलाई क्षमता विकास तालिम दिइएको छ ।
‘उत्थानशील सुरुवातका लागि सुरक्षित पोषण : मेलम्चीमा जलवायु अनुकूल समुदाय र विद्यालयहरू’ परियोजनाअन्तर्गत आयोजित दुईदिने तालिममा मेलम्ची नगरपालिकाका विभिन्न विद्यालयका २० जना प्रधानाध्यापक तथा स्वास्थ्य/इको फोकल शिक्षक सहभागी भएका थिए ।
करुणा ट्रस्ट यूकेको सहयोग, मेलम्ची नगरपालिकाको समन्वय र रीड नेपालको कार्यान्वयनमा भएको तालिममा जलवायु परिवर्तनले कृषि, खाद्य सुरक्षा तथा बालबालिकाको पोषणमा पार्न सक्ने प्रभावबारे छलफल गरिएको थियो । साथै विद्यालय र समुदायलाई जलवायु अनुकूल बनाउन सकिने उपाय तथा दिगो कृषि प्रवर्द्धनका विषयमा सहभागीलाई व्यवहारिक ज्ञान दिइएको थियो ।
तालिम समापनका क्रममा शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजालले विद्यालयलाई किताब पढाउने ठाउँमा मात्र सीमित नराखी स्वस्थ र वातावरणमैत्री जीवनशैली सिकाउने केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले बालबालिकाको पोषण सुधारका लागि स्थानीय सरकार र संघसंस्थाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउँदै दिगो कृषिलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
रीड नेपालका सचिव तथा कार्यक्रमका अध्यक्ष इसाबेल लवटले जलवायु परिवर्तन, पोषण र कृषिका चुनौती समाधानका लागि स्थानीय समुदाय, विद्यालय र सरोकारवाला निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो ।
तालिममा गीता ढुंगाना र रीड नेपालका रामेश्वर प्रधानले सहजीकरण गर्नुभएको थियो। परियोजना तथा वातावरणसम्बन्धी गतिविधिबारे वातावरण अधिकृत सुशीला कँडेलले जानकारी दिनुभएको थियो ।
तालिमपछि सहभागी शिक्षकले विद्यालयमा पोषणयुक्त खानाको महत्व, वातावरण संरक्षण तथा जलवायु अनुकूल कृषि अभ्यासबारे विद्यार्थी र समुदायमा सचेतना फैलाउन भूमिका खेल्ने आयोजकले जनाएको छ ।







