सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ मा नेपाली कांग्रेसका पूर्व वडाध्यक्ष उम्मेदवार अण लामासहित दर्जनौँ युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट इन्द्रावती–५ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका लामाको नेतृत्वमा युवाहरूले पार्टी परित्याग गरी एमाले रोजेका हुन् ।
विशेष पार्टी प्रवेश कार्यक्रममा एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङ र एमाले सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठलगायत नेताहरूले नवप्रवेशीलाई खादा तथा अबिर लगाएर स्वागत गरेका थिए ।
पार्टी प्रवेशपछि नेता लामाले देशको समृद्धि र विकासका लागि एमालेको नीति तथा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आफूहरू पार्टीमा आबद्ध भएको बताए ।
एमाले नेताहरूले लामासहित युवाहरूको प्रवेशले इन्द्रावतीमा पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनिसकेका लामासहितका युवाले पार्टी परिवर्तन गरेपछि इन्द्रावतीको स्थानीय राजनीतिक वृत्तमा यसले चर्चा पाएको छ ।






